चितवनको पुरानो मेडिकल कलेजका चिकित्सकको मिलेमतोमा नै ललितपुरका एक जनाको मिर्गौला प्रत्यारोपण भएको खुल्न आएको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा मिर्गौला प्रत्यारोपणको स्वीकृति पाउनु अघि नै मिर्गौला दिने र लिने दुबैलाई अस्पतालमा भर्ना गरेर राखेको खुल्न आएको हो।
यी सबै कुराको तारताम्य नोबेल अस्पतालका डाक्टर राकेश बर्माले मिलाएको ब्युरोले जनाएको छ।
अस्पतालले मिर्गौला दिने र लिनेलाई २०७६ साल जेठ २० गते भर्ना गराएको थियो। तर मिर्गौला प्रत्यारोपण समितिले उनीहरूलाई प्रत्यारोपण गर्न २०७६ साल जेठ २६ गते मात्रै स्वीकृति दिएको ब्युरोको अनुसन्धानले देखाएको छ।
स्वीकृति पाएको भोलिपल्टै एक जनाको मिर्गौला झिकेर अर्को व्यक्तिमा हालिएको थियो। जसमा अस्पतालका डाक्टर सुप्रभात श्रेष्ठ लगायतकाको टिम संलग्न थियो। डाक्टर श्रेष्ठ नेपाल प्रहरीका अवकाशप्राप्त एक डिआइजीका छोरा हुन्।
'हामीले गरेको अनुसन्धानमा बिरामीलाई पहिला नै भर्ना राखेर हतार-हतार अस्पतालले मिर्गौला प्रत्यारोपण गरिएको देखिएको छ,' ब्युरोका एक प्रहरी अधिकारीले भने, 'सक्कल कागजात नहेरी फोटोकपीमात्र राखेर अस्पतालले सामान्य विवेक पनि प्रयोग नगरी काम गरेको छ।'
ललितपुरका ५३ वर्षीय व्यक्तिलाई मिर्गौला दिनका लागि ओखलढुंगाका एक गरिब परिवारका व्यक्तिलाई फकाइ महँगो रकम लिने प्रलोभन दिइएको पनि प्रहरी अनुसन्धानले देखाएको छ।
ओखलढुंगाका ती व्यक्ति खोजी गर्ने र डाक्टर बर्माबीच एक हप्तामा ३० पटकभन्दा बढी कल भएको ब्युरोको दाबी छ।
अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरिएको अभियोगमा ब्युरोले १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
चितवनको पुरानो मेडिकल कलेजले भने कानुन सम्वत नै मिर्गौला प्रत्यारोपण गरेको दाबी गरेको छ।
सरकारी निकायबाट प्रमाणित कागजातका आधारमा मिर्गौला प्रत्यारोपण गरेको सो कलेजको दाबी छ।
प्रहरीले भने चिकित्सकको मिलेमतोबिना अवैध रूपमा मिर्गाैला प्रत्यारोपण कसरी गर्न सकिन्छ प्रश्न गरेको छ।