पहिरो खसेर सोमबार साँझदेखि अवरूद्ध सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड २ दिनपछि खुलेको छ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ दोभानमा सोमबार साँझ ५ बजेतिर ठूला ढुंगा सहितको पहिरो खसेपछि सडक अवरूद्ध थियो।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले पहिरोसँगै माथिबाट ठूला ढुंगासमेत सडकमा खसेकाले पहिरो हटाउन ढिलाइ भएको जानकारी दिए।
सोमबार साँझ पहिरो खसे पनि रातभर पानी परिरहेकोले मंगलबार बिहानदेखि मात्र पहिरो हटाउन सुरू गरिएको थियो।
डिभिजन सडक कार्यालय पाल्पा र बुटवलबाट गएका एक्साभेटर र डोजरले दिनभरि सडकमा खसेको पहिरो हटाए पनि ढुंगा हटाउन नसकिएकोले मंगलबार पनि सडक सुचारू हुन सकेको थिएन।
बुधबार बिहानैदेखि पहिरोसहित खसेका ढुंगा मेसिनले फुटालेरमात्रै हटाउन सकिएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।
‘सडकमा खसेको माटो र साना ढुंगा मंगलबार साँझ नै पन्छाएको भए पनि पहिरोसँगै झरेका ढुंगा बुधबारमात्रै फुटाएर हटाइएको छ’,उनले भने।
दोभान प्रहरी चौकी नजिकै खसेको उक्त पहिरोका कारण सोमबार साँझदेखि नै सडकमा सवारीसाधन रोकिएका थिए।
अहिले पहिरो हटाएर यातायात सुचारू गरिए पनि बुधबार दिउँसोदेखि सो क्षेत्रमा पुनः पानी पर्न थालकाले यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।