संसारमा अहिले झन्डै ७ अर्ब ७९ करोड मानिस छन्। अहिले बाँचिरहेका तपाईं/हामीमध्ये धेरै जना अबको ८० वर्षपछि दुनियाँमा रहन्नौं होला। सन् २१००तिर पृथ्वीमा कति मानिस होलान् त?
अमेरिकाको युनिर्सिटी अफ वासिङ्टनका अनुसन्धानकर्ताहरूले यसबारे अनुसन्धान गरेर ८० वर्षपछिको जनसंख्याको आँकलन गरेका छन्।
बुधबार सार्वजनिक भएको अध्ययनको रिपोर्टअनुसार सन् २१००मा संसारमा ८ अर्ब ८० करोड मानिस हुने छन्। यो संख्या संयुक्त राष्ट्र संघको अहिलेको प्रक्षेपणभन्दा २ अर्ब कम हो।
अनुसन्धानकर्ताहरूले सन्तानोत्पादनमा भइरहेको निरन्तर गिरावट र बुढाबुढी संख्या बढ्दै गएकाले सन् २१०० मा राष्ट्र संघको अनुमानभन्दा कम मानिस पृथ्वीमा हुने निष्कर्ष निकालेका छन्।
यो शताब्दीको अन्त्यसम्ममा १९५ मध्ये १८३ देशले जनसंख्यालाई सन्तुलनमा राख्न चाहिने जन्मदर कायम गर्न सक्ने छैनन्। यसमा आप्रवासीहरूको संख्या भने गणना गरिएको छैन।
जापान, स्पेन, इटाली, थाइल्याण्ड, पोर्चुगल, दक्षिण कोरियालगायत २० मुलुकको जनसंख्या त अहिलेभन्दा ८० वर्षपछि आधा कम हुने अध्ययनको निष्कर्ष छ।
अहिले संसारकै बढी जनसंख्या चीनमा छ। जनसंख्या वृद्धि नियन्त्रण गर्न चीनले एक सन्तान नीति नै लागू गरेको थियो। केही वर्षअघि उक्त नीति हटाइएको छ। चीनमा अहिले १ अर्ब ४० करोड जनसंख्या छ।
नयाँ अध्ययनले ८० वर्षपछि चीनको जनसंख्या घटेर ७३ करोडमा आइपुग्ने आँकलन गरेको छ।
सब सहारा अफ्रिका क्षेत्रका देशको जनसंख्या भने अहिलेको भन्दा तीन गुणा बढी हुने देखिएको छ। त्यहाँमात्रै झन्डै ३ अर्ब जनसंख्या पुग्न सक्छ। उक्त क्षेत्रमा सबैभन्दा धेरै जनसंख्या भएको देश नाइजेरिया हुन सक्छ। ८० वर्षपछि नाइजेरियाको जनसंख्या ८० करोड पुग्ने अध्ययनको अनुमान छ।
सन् २१०० मा संसारकै बढी जनसंख्या भएको मुलुक भने भारत हुनेछ यद्यपी उसको जनसंख्या पनि अहिलेभन्दा घट्नेछ। भारतको जनसंख्या १ अर्ब १० करोड पुग्न सक्छ। अहिले भारतमा १ अर्ब ३५ करोड मानिस बस्छन्।
‘यी पूर्वानुमान वातावरणका लागि शुभ समाचार हुन्, त्यतिबेला खाद्य आपूर्ति प्रणालीलाई धेरै भार पर्ने छैन भने कार्बन उत्सर्जन पनि कम हुनेछ। साथै सब सहारा क्षेत्रमा महत्वपूर्ण आर्थिक अवसर विकास हुनेछ,’ अध्ययन प्रतिवेदनका मुख्य लेखक क्रिस्टोफर मुरेले भने,‘तर अफ्रिकाबाहिरका देशहरूमा जनशक्तिको ठूलो अभाव हुनेछ भने उमेरअनुसार जनसंख्याको उल्टो पिरामिड बन्नेछ। जसले उनीहरूको अर्थतन्त्रमा गहिरो नकरात्मक असर पार्नेछ।’
धनी र विकसित देशहरूले जनसंख्या एक तहमा कायम राखिरहन आप्रवासी नीतिमा सरलता र बढी बच्चा जन्माउन चाहने जोडीलाई सामाजिक सुरक्षा बढाउनु पर्ने अध्ययनको निष्कर्ष छ।
जनसंख्याको नयाँ ट्रेन्डअनुसार बुढाबुढी संख्या बढ्ने भएकाले सरकारहरूले अहिलेको सामाजिक सुरक्षा र स्वास्थ्य प्रणालीमा व्यापक फेरबदल गर्नु पर्ने हुन्छ।
संसारभरि नै सन्तानोत्पादन दर घट्ने र औसत आयु बढ्ने भएपछि पाँच वर्षमुनिका बच्चाहरूको संख्या पनि अहिलेभन्दा त्यतिबेला ४० प्रतिशत कम हुने अध्ययनले देखाएको छ।
सन् २०१७ मा संसारमा ५ वर्षमुनिका बच्चा ६८ करोड थिए सन् २१००मा यो संख्या ४० करोडमा झर्ने छ। ६५ वर्षमाथि मानिसहरूको संख्या एक चौथाइभन्दा बढी हुनेछ। अहिले ८० वर्षका माथिका मानिसहरू १४ करोड छन् ८० वर्षपछि भने यो उमेर समूहका मानिसको संख्या ८६ करोड बढी हुनेछ।
काम गर्ने उमेर समूहका मानिसको संख्या हुने तीव्र गिरावटले धेरै देशमा चुनौती थपिनेछन्।
त्यस्तो बेला समाज कम कामदार र थोरै करदाताबाट समाजलाई अघि बढाउनु पर्नेछ। उदाहरणको लागि चीनमा अहिले काम गर्ने उमेर समूहका मानिसहरू ९५ करोड छन् तर ८० वर्षपछि यो संख्या झन्डै ६२ प्रतिशतले घटेर ३५ करोडमा पुग्नेछ। भारतमा अहिले ७६ करोड मानिस काम गर्ने समूहमा छन् सन् २१०० मा यो संख्या केही घटेर ५७ करोड मानिस काम गर्न सक्ने हुनेछन्।
नाइजेरियामा भने उल्टो हुनेछ। त्यहाँ अहिले ८ करोड ६० लाख मानिस काम गर्ने उमेरका छन् ८० वर्षपछि यो संख्या बढेर ४५ करोड पुग्नेछ।
जनसंख्यामा भएको यो उथलपुथलले देशको अर्थतन्त्रको आकारमा पनि असर गर्नेछ। अनुसन्धानकर्ताहरूले सन् २०५० सम्म चिनियाँ कुल ग्राहस्थ उत्पादनले अमेरिकालाई उछिन्ने प्रक्षेपण गरेका छन्। तर सन् २१०० तिर भने चीन फेरि जिडिपीको आकारमा दोस्रो स्थानमा झर्नेछ।
त्यतिन्जेल भारतको अर्थतन्त्र तेस्रो ठूलो हुनसक्छ भने जापान, जर्मनी, फ्रान्स र बेलायत संसारका दश ठूला अर्थतन्त्रमा रहन सक्छन्।
ठूला अर्थतन्त्रमा दक्षिण अमेरिकी मुलुक ब्राजिलसँगै रूस, स्पेन र इटाली धेरै पछि पर्नेछन्। इन्डोनेसिया र नाइजेरियाको अर्थतन्त्र भने ह्वात्तै बढ्न सक्छ।
‘यो शताब्दीको अन्त्यसम्म विश्वको शक्ति बहुध्रुवीय हुनेछ जसमा भारत, नाइजेरिया, चीन र अमेरिका शक्ति राष्ट्र हुनेछन्,’ उक्त रिपोर्ट छापेको लेन्सेट म्यागजिनका सम्पादक रिचार्ड हर्टनले भने,‘भूराजनीतिक शक्तिमा आमूल परिवर्तन हुनेछ।’
अहिलेसम्म संयुक्त राष्ट्रले सन् २१०० सम्म विश्वको जनसंख्या १० अर्ब ९० करोड अनुमान गरेको थियो।
राष्ट्र संघको अनुमान र अहिले अध्ययनमा सन्तानोत्पादनको दरमा फरक मत छ।
राष्ट्र संघले अहिले कम बच्चा जन्माइरहेका देशका महिलाहरूको सन्तानोत्पादन दर ८० वर्षसम्म क्रमश: बढ्ने अनुमान गरेको छ। जनसंख्यालाई सन्तुलनमा राख्न हरेक महिलाले २.१का दरले बच्चा जन्माउनु पर्ने मानिन्छ।
‘हाम्रो विश्लेषणले शिक्षित र प्रजनन स्वास्थ्य सेवा पाएका महिलाहरूले दुई भन्दा कम बच्चा जन्माउँछन् भन्ने हो। औसतमा उनीहरूले १.५ बच्चा जन्माउँछन्,’ मुरेले भने।