महाराजगन्जमा तीन सवारी साधन ठोक्किँदा एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।
शनिबार साँझ सवा ५ बजे काठमाडौं महानगरपालिका-४ सुकेधारा हिमाल डेन्टल अगाडि दुर्घटना हुँदा बा ७४ प २८६१ नम्बरको मोटरसाइकल चलाइरहेका असई प्रेमराज पौडेलको मृत्यु भएको हो। सुर्खेत घर भएका उनी प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यविभाग प्रशासन शाखामा कार्यरत थिए।
सुकेधाराबाट चाबाहिलतर्फ आउँदै गरेको प्र ३ ०२ ००३ प ४१५० नम्बरको स्कुटर र सुकेधारातर्फ जाँदै गरेको बा ७४ प २८६१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। लगत्तै चाबहिलबाट सुकेधारातर्फ जाँदै गरेको बा १ ग २२७८ नम्बरको आर्मी हेडक्वाटर भद्रकालीको पानी ट्याङकर पनि ती दुई सवारीसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकलमा सवार असई पौडेल गम्भीर घाइते भएका थिए। उनलाई चाबाहिलस्थित ओम अस्पतालमा लगिएको थियो।
अस्पतालले उनलाई ६ बजे मृत घोषणा गरेको थियो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन वटै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
महाशाखाका अनुसार स्कुटरका चालक चण्डोल बस्ने सरद सिग्देलसँग कागजपत्र थिएन। उनलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।
प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।