सैनिक कल्याणकारी कोषको सम्पत्ति ५१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
कल्याणकारी कोषको नगद मौज्दात ४५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ पुगेको छ भने विभिन्न निकायमा गरिएको लगानी ५ अर्ब ७४ करोड २४ लाख रुपैयाँ पुगेको छ।
सैनिक कल्याणकारी योजना निर्देशनालयले पत्रकार सम्मेलन गरी गत असार मसान्तसम्म ३८ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ नगद मौज्दात रहेकोमा एक वर्ष मै ६ अर्ब २९ करोड १९ लाख रुपैयाँ वृद्धि भएको जानकारी दिएको हो।
यसलाई नेपाली सेनाले ऐतिहासिक भनेको छ।
शान्ति सेनामा सहभागी भएबापत प्राप्त करिब एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा खडा गरिएको उक्त कोषमा अहिले करिब ४५ अर्ब ८७ करोड रुपैयाँ नगद मौज्दात छ ।
सैनिक कल्याणकारी कोषको करिब ८५ करोड रुपैयाँ जोखिममा रहेकोमा यो रकम घटेर ५ करोड २ लाख रुपैयाँमा पुगेको सेनाले जनाएको छ।
कोषको यो तथ्यांक गत असार मसान्त सम्मको हो। शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम नै कल्याणकारी कोषको मुख्य आयस्रोत हो।
बैंक तथा वित्तीय संस्थामा रहेको कोषको मूलधनको निक्षेपबाट प्राप्त ब्याज, सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क, पारिवारिक आवास भाडा रकम, सुनाचुरी इममल्सन प्लाण्ट, रिपूमर्दिनी अक्सिजन प्लान्टबाट उपलब्ध रकम कोषका मुख्य तथा विविध आय स्रोत हुन्।
कोषको नगद मौज्दात मुलुकका विभिन्न एक दर्जन भन्दाबढी विभिन्न बैंकमा रहेको छ।
विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवा उपलब्ध गराएबापत प्राप्त हुने रकम पनि कल्याणकारी कोषमा आउँछ।
उक्त कोषको रकम सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिक र निजका आश्रित परिवारको जीवनस्तर उकास्ने कल्याणकारी कार्य, सेनाका आवश्यकताका सामग्रीको आपूर्ति र उत्पादन र शान्ति सेनामा सम्मिलित हुन जाँदा आवश्यक पर्ने समान र खर्चका लागि प्रयोग हुँदै आएको छ ।
नेपाली सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन कल्याणका लागि कोषमार्फत् शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत अभियान कार्यक्रम सञ्चालन गरेको सैनिक कल्याणकारी योजना निर्देशनालयका निर्देशक एवम् सहायक रथी सागर केसीले जानकारी दिए।
प्रदेशहरूमा अस्पताल विस्तार गरिँदै
सैनिक कल्याणकारी कोषकै लगानीमा २०७५ वैशाखदेखि नेपालगञ्जमा ५० शैया,२०७६ फागुनबाट इटहरी र पोखरमा ५०\५० शैयाका सैनिक अस्पतालहरू सञ्चालनमा आइसकेका छन्। बर्दिवास र धनगढीमा २५\२५ शैयाको सैनिक अस्पताल सञ्चालनको लागि अस्पताल निर्माणको काम भइरहेको सहायकरथी केसीले बताए।
सबै प्रादेशिक अस्पतालहरुको सञ्चालन खर्च महाँकालस्थित कल्याणकारी भवनबाट आर्जन हुने रकमबाट व्यवस्थापन गर्ने सेनाले जनाएको छ।
सुरूमा अस्पताल प्रयोजनका लागि बनाइएको त्यो भवनलाई २०७२ को भूकम्प पछिको अवस्था र भुपू सैनिकको सुझावका आधारमा भाडामा दिइने निर्णय भएको सेनाको दाबी छ।
हिताधिकारीको चाहना र महांकालमा खर्च धान्न अप्ठ्यारो हुने भएकाले व्यापारिक प्रयोजनका लागि भाडामा दिइएको कल्याणकारी कोषका सहायक रथी केसीले बताए।
विष्फोटक पदार्थमा आत्मनिर्भर हुने,जुत्ता कारखाना खोल्ने
सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित इमल्सन प्लान्टबाट विकास आयोजनाहरूलाई आवश्यक पर्ने विष्फोटक पदार्थ उपलब्ध गराउने योजना रहेको सेनाले जनाएको छ।
यसको वार्षिक उत्पादन क्षमता २ हजार ४ सय मेट्रिकटन रहेको छ।
त्यस्तै, नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धि गर्ने र सैनिक सामग्रीमा क्रमश: आत्मनिर्भर हुँदै जाने योजनाअन्तर्गत 'नेपाली सेना जुत्ता कारखाना परियोजना'सञ्चालन गर्ने योजना रहेको छ।
विकास निर्माण आयोजनामा प्रवर्द्धक बन्ने गरी कानुन प्रस्ताव
सैनिक कल्याणकारी कोषको रकम राष्ट्रिय गौरवका आयोजनामा लगानी गर्न पाउने गरी कानुन प्रस्ताव गरिएको प्राड विभाग प्रमुख रत्नप्रकाश थापाले बताए।
'निश्चित आयोजनाहरूमा प्रवर्द्धकको रूपमा लगानी गर्न पाउने प्रावधान प्रस्ताव गरिएको छ,'उनले भने,'सैनिक ऐन २०६३ संशोधनका क्रममा छ। त्यसपछि यसबारेमा निर्णय हुन्छ होला।'