काठमाडौं महानगरपालिकाले सरकारको सहयोगमा सामुदायिक स्कुलका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण सुरू गरेको छ।
मंगलबार महानगर प्रमुख विद्यासुन्दर शाक्यले ज्ञानोदय माध्यमिक विद्यालय, बाफलबाट यो कार्यक्रम सुरू गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले रजस्वला भएका महिलालाई विभेद गर्न नहुने बताए।
‘महिला नभएको घर हुँदैन। उनीहरूलाई हेर्ने दृष्टिकोण अनि बुझ्ने र बुझाउनेमा फरक छ,’ उनले भने, ‘घरमा कोही रजस्वला हुँदा उनीहरूको हेरविचार गर्नुपर्छ, सहयोग गर्नुपर्छ। तर उसले छोएको खानु हुँदैन भन्ने जस्ता विभेदपूर्ण व्यवहार परिवर्तन गर्नुको अर्को विकल्प छैन।’
पहिलादेखि चलिआएको चलन हो भन्दै विकृति र विसंगती रहिरहन दिने हो भने पुस्तौंसम्म यस्तै चलन रहिरहने उनले बताए।
‘यस्तो चलन अन्त्य नगर्ने हो भने झन् जरा गाडेर बस्छ र समाजलाई अघि बढ्न दिँदैन,’ उनले भने, ‘समाज परिवर्तन गर्ने हामी सबैको दायित्व हो। समाज परिवर्तनका लागि अठोट पनि चाहिन्छ।’
उहाँले सामुदायिक विद्यालय सुधारमा ध्यान दिन समेत आग्रह गरे।
काठमाडौं महानगरपालिकाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले महानगरका सबै सामुदायिक विद्यालयलाई प्याडका निम्ति प्रति छात्रा १ हजार ६ रुपैयाँका दरले बजेट निकासा गरी सबै विद्यालयमा पठाइसकेको जानकारी दिए।