सिन्धुपाल्चोकको गेलुन खोला साल हाइड्रोपावर प्रोजेक्टमा स्थानीयले अवरोध गरेका छन्।
चौतारा साँगाचोकगढी नगरपालिकाका-२ साँगिनी विरौते मंगलबार राति गाडिएका पोल स्थानीयले भत्काइदिएका हुन्।
'आठमध्ये चार वटा पोल मंगलबार राति गाढेका थियौं, तार पनि जोड्यौं,' उक्त आयोजनाका प्रोजेक्ट म्यानेजर रामकुमार राईले सेतोपाटीसँग भने,'बिहान उठ्दा त स्थानीयले ढालिसकेका रहेछन्।'
उनका अनुसार स्थानीयले अवरोध नगरेको भए आयोजना लगभग सकिएको थियो।
'९९ प्रतिशत काम सकिसक्यौं। यी पोलहरू गाडेर लाइन जडान गरिसकेको भए अरू काम नेपाल विद्युत प्रधिकरणको थियो,' उनले भने,'स्थानीयले पोल तथा तार बिगारेपछि करिब १४-१५ लाखको क्षति भएको छ।'
स्थानीयले पुरा नै गर्न नसकिने माग राखेको राईको भनाइ छ। माग पुरा नहुने भएपछि स्थानीयले आयोजनामा योसँगै तीन पटक अवरोध गरिसकेका छन्।
सिंगापुर प्रहरी र बेलायती सैनिकहरूको लगानीमा २०७१ सालदेखि उक्त आयोजनाको काम सुरू भएको थियो।
३.२ मेगावाटको आयोजनाका पोल गाड्न स्थानीयलाई प्रतिपोल १५ हजार रुपैयाँ मुआब्जा दिइएको थियो।
'हामीले प्रतिपोल १५ हजार दिइसकेका छौं। तर उनीहरूले विद्युत प्रसारण गर्न कालो तार प्रयोग गर्न माग राखेका छन्,' म्यानेजर राईले भने,'जबकी नेपाल विद्युत प्रधिकरणले नै हामीलाई नाङ्गो तार राख्न भनेको छ।'
स्थानीय भने कालो तार राखे मात्रै पोल गाड्न दिने अडानमा छन्।
'कालो तार राख्ने भएमात्रै हामीलाई पोलहरू गाड्न दिने भन्छन्। त्यस ठाउँमा केही घरमात्रै छन् भने बाँकी जंगल हो,' उनले भने,'उनीहरूले अवरोध गर्न पर्ने देखिन्न तर अरू नै मान्छेहरूले उचालेर अवरोध गर्न आएका हुन्।'
आयोजनामा क्षति पुर्याएपछि उनीहरूले जिल्ला प्रहरी कार्यालयमा १४ जनाविरूद्ध उजुरी दिएका छन्।
'प्रोजेक्टमा क्षति पुर्याएको भन्दै उहाँहरूले अभद्र व्यवहारमा उजुरी दिनु भएको छ,' जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकका डिएसपी माधव काफ्लेले भने,'उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरी पक्राउ गर्छौं।'
उनका अनुसार उनीहरूविरूद्ध अभद्र व्यवहारको मुद्दा आकर्षण हुन्छ।