पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै नगरपालिकाको वडा नं. १८ का एकजना सर्वसाधारणमा पनि कोरोना भाइरसको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख गौरव ढकालका अनुसार समुदायमा कोरोनाको अवस्था कस्तो छ थाहा पाउन गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
नगरक्षेत्रमा रहेका सर्वसाधारण, कर्मचारी, पत्रकार, बंैक तथा वित्तीय संस्थाका कर्मचारी, होटल व्यवसायीसहित १ सय २९ जनाको पिसिआर परीक्षण गरेको थियो।
तीमध्ये २ जनामा संक्रमण पुष्टि भएको छ भने ८ जनाको रिपोर्ट आउन बाँकी छ। त्यस्तै सुनवल नगरपालिकामा पनि ७७ जनामा परीक्षण गरिएको थियो। सुनवलका भने सबैको रिपोर्ट नेगेटिभ आएको ढकालले जानकारी दिए।
नवलपरासीका अरु स्थानीय तहमा गरिएको परिक्षणको रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
समुदायस्तरमा कोरोना संक्रमणबारे जिल्लास्तरीय कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिले सबै स्थानीय तहमा परीक्षण सुरू गरेको थियो।