प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी क्वारेन्टिनमा बसेका छन्।
यसै साता काठमाडौंमा सम्पन्न प्रदेश प्रहरी व्यवस्थापन सम्बन्धी छलफलमा सँगै रहेका प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भएपछि प्रदेश ५ का मन्त्री केसी होम क्वारेन्टिनमा बसेका हुन्।
मन्त्रालयका अनुसार प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत एक महाशाखा प्रमुख समेत क्वारेन्टिनमा छन्।
श्रीमतीलाई कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका एक इन्जिनियरलाई पनि होम क्वारेन्टिनमा राखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले मन्त्री केसीको पनि स्वाव परिक्षण गरिने जानकारी दिए। यसैगरी वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि नियमित काममा फर्किएका छन्।
नगरविकास कोषको काठमाडौंमा सम्पन्न कार्यक्रममा संगै रहेका सरावगीलाई कोरोना संक्रमण पुष्टि भएपछि बुटवलका मेयर सुवेदी क्वारेन्टिनमा बसेका थिए। प्रदेश ५ का अन्य बजार तथा क्षेत्रहरुमा कोरोनाका विरामीहरुको चाप बढिरहेपनि खासै विरामी नभेटिएको बुटवलमा साउन महिना यता विरामीहरु थपिएका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका एकजना विरामीमा कोरोना संक्रमण पुष्टि भएको छ।
एकसाता अघि लुम्बिनी प्रादेशिक अस्पतालमै पिसिआर परिक्षण गरेका दुईजनाको रिपोर्ट पोजेटिभ आएपनि उनीहरु अझै सम्पर्कमा आएका छैनन्।
कोरोना पोजेटिभ देखिएका विरामी नै अस्पतालको सम्पर्कमा नआएपछि संक्रमणको जोखिम बढेको छ। लुम्बिनी प्रादेशिक अस्पतालले समुदायमा कोरोनाको अवस्थाबारे जानकारी लिन बजार क्षेत्रबाट नमूना संकलन गरिएको जनाएको छ।
अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले बुटवल बजारका व्यवसायी, बैंकका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, जनप्रतिनिधिसहित बुधबार २ सय ३८ जनाको स्वाव संकलन गरिएको जानकारी दिए।