नाबालक दुई छोराछोरीसहित रुपन्देहीको भैरहवास्थित डण्डा नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार गरिएको छ।
शनिबार दिउँसो साढे २ बजेतिर ती महिला दुई छोराछोरीसहित नदीमा हाम फालेकी थिइन्।
प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ४ घर भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बसडिलियामा कोठा भाडामा बस्ने २२ वर्षकी पवित्रा सुनारले नदीमा हाम फाले पनि स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको जनाएको छ।
पवित्राले आफ्ना ६ वर्षकी छोरी रोजिना र ३ वर्षका छोरा रोशन सुनारलाई चुन्नीले कम्मरमा चुन्नीले बाँधेर डण्डा खोलामा हाम फालेकी थिइन्।
दुई बच्चासहित नदीमा हाम फालेको देखेपछि स्थानीयको सहयोगमा तत्काल सकुशल उद्धार गरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।
अहिले तीनै जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको खत्रीले जानकारी दिए।
पवित्राका श्रीमान रोजगारीको लागि भारतमा रहेको र उनले आत्महत्या गर्न खोज्नुको कारण नखुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरू गरेको जनाएको छ।