कर्णाली प्रदेशमा सोमबार २४ जना कोरोना संक्रमित थपिएका छन्।
प्रदेश अस्पताल सुर्खेत र दैलेख अस्पतालका प्रयोगशालामा २८६ जनाको स्वाब परीक्षण गरिएकोमा २४ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
सोमबार थपिएकामध्ये सुर्खेतका १ जना, सल्यानका ६ जना र दैलेखका १७ जना छन्। जसमध्ये ६ जना महिला रहेको महाशाखाले जनाएको छ।
दैलेखको भैरवी गाउँपालिकाका ३ जना पुरुष, नारायण नगरपालिकाका ४ जना महिला, १० जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका ४ जना पुरुष, २ जना महिलामा कोरोना पुष्टि भएको छ। यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको छ।
योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ३ पुगेको छ। जसमध्ये १ हजार ८८० जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ११७ जना विभिन्न आइसोलेशन तथा अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।