जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको निधन भएको छ। कोरोना संक्रमित गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार ७३ वर्षीय गिरी मुटु रोगी थिए। उनलाई कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।
उनका छोरा डा. सन्तोष गिरीका अनुसार पछिल्लो एक सातादेखि भेन्टिलेटरमा उपचार भइरहेका गिरीको मंगलबार राति १२ बजेतिर उनको मृत्यु भएको हो।
उनका चालक र एकजना काम गर्नेलाई पनि कोरोना देखिएपछि सँगै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो। उनीहरू दुबै जना अहिले निको भइसकेका छन्।
गिरी २०४२ सालमा जनकपुर नगरपालिकाको मेयर बनेका थिए। उनी जनकपुर सहरकै संस्थापकमध्ये मानिने गौरीनारायण डिठ्ठाका छोरा हुन्।
उनी जनकपुरको ‘होटल रामा’ का मालिक पनि हुन्। गिरीका श्रीमती र दुई छोराहरू छन्। बुवा बिरामी भएपछि जेठो छोरा डा. सन्तोष ब्रुनाइबाट आएका थिए भने कान्छा छोरा डा. कुन्दन गिरी अष्टेलियामा छन्।