सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारीअनुसार शनिबार दिउँसोसम्म १६ जनाको शव फेला परेको छ। उनीहरूको सनाखतसमेत भइसकेको छ।
पहिरोमा परेर जुगल गाउँपालिका २ का ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय तिजे झाँक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीया सानो कान्छी भन्ने दावा लामु दोङ, ५ वर्षीया प्रिती दोङ, पाँच महिनाकी बालिका तारालामु दोङ, ३४ वर्षीया धनमाया तामाङ, चार महिनाका बालक रेमिश दोङको सनाखत भएको छ।
यस्तै १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षका मेकमाई दोङ, ११ वर्षकी मेकमाई दोङ, ७ वर्षिया बिमला दोङ, सात महिनाका बालका कबिर दोङको शव शनिबार फेला परेको प्रहरीले जानकारी दिएको छ।
लिदी लामागाउँमा गएको पहिरोमा ३७ घर पुरिएको थियो। ४० जना बेपत्ता थिए। तीमध्ये १६ जनाको शव भेटिएको हो। शव सनाखत गरेर कानूनी प्रक्रिया पूरा गरेपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ। पहिरोमा बेपत्ताको खोजि जारी छ।
पहिरोमा परी घाइते जुगल गाउँपालिका २ लिदीका ९ वर्षीय रूपबहादुर दोङ, ४३ वर्षीया जुनुमाया दोङ, ६० वर्षीया केवरिङ तामाङ, २३ वर्षीया पासाङ दोङ, दावा ग्याल्बो दोङको चौतारा अस्पतालमा र करिब ५० वर्षीया यामुलामु दोङको काठमाडौं बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।