बैतडीमा हाइस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
दशरथ चन्द राजमार्ग अन्तरगत महेन्द्रनगरबाट दार्चुला जाँदै गरेका बा ३ ख ९११७ नम्वर हाइस पाटन नगरपालिका वडा नम्वर ७ लामाखेतमा हिजो साँझ ७ बजे दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।
घाइते ११ मध्ये २ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक गौरी प्रसाद जैसीले जानकारी दिए।
गम्भीर घाइते हुनेहरूमा डडेलधुराको अमरगढीका ३५ वर्षीय शेर साउद र दार्चुलाको शैल्यशिखरका २५ वर्षीय बिस्ना जोशी रहेको प्रहरी निरिक्षक जैसीले बताए।
अन्य घाइतेहरूको पाटन स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उक्त हाइस सडकबाट २० मिटर तल खसेको छ।
घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।