काठमाडौं उपत्यकामै सबभन्दा बढी जाम हुने कोटेश्वर-जडिबुटी सडकखण्ड ८ लेनमा विस्तार गर्ने काम सुरू भएको छ।
यसअघि ४ लेन रहेको सडकलाई अब ८ लेनको बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले सेतोपाटीलाई बताए।
सडक आठ लेनमा विस्तार भएपछि पिक आवरमा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ।
दक्षिणतिर दुई लेन र उत्तरतिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरू भएको हो।
२ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र बीचका ४ लेन सिधै कोटेश्वर-जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको हो।
सबभन्दा बढी जाम हुने क्षेत्रमा विस्तारपछि यातायात सहज हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले बताए।
पूर्ण रूपमा जाम नियन्त्रण गर्न नसकिए पनि २५/३० प्रतिशत जाम कम गर्न सकिने उनले बताए।
सडक विभाग अन्तर्गत काठमाडौं डिभिजनबाट सडक विस्तारको काम सुरू भएको हो।
४/६ महिनाभित्र सम्पन्न हुने गरी काम सुरू भएको उल्लेख गर्दै उनले जडिबुटी क्षेत्र आसपासमा रहेका निजी क्षेत्रमा बनेका घरलाई मुआब्जाको व्यवस्था गरिने बताए।
सार्वजनिक यातायातमा जिपिएस जडान र इ-टिकेटिङ सिस्टम लागू गर्ने गरी नीति तर्जुमा भइरहेको उनले बताए।
सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीले सतप्रतिशत जाम कम गर्न नसकिए पनि करिब ४० प्रतिशत कम जाम हुने दाबी गरे।
भक्तपुर पेप्सीकोलाबाट बालकुमारीतर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन हुने भएपछि जाममा बस्नुपर्ने अवस्था नहुने उनले बताए।
सडक विस्तारको काम सुरू भइसकेको छ। परिस्थिति सहज भए कम्तीमा ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम सुरू भएको हो।
करिब १२ करोड लागतमा सडक विस्तार हुनेछ। यो साता नै टेण्डर खुला गरिने डिभिजन कार्यालयले जनाएको छ।
उत्तरतर्फ लेन विस्तारका लागि विमानस्थलको जग्गा प्रयोग गरिएको छ। जाइकाको सहयोगमा सुरुङमार्ग निर्माणका लागि कार्ययोजना बनिरहे पनि तत्कालको समस्या समाधानका लागि लेन विस्तारको काम सुरू गरिएको मन्त्रालयले जनाएको छ।