झापाको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा धारिलो हतियार प्रयोग गरेर घाँटी छेदन गरिएको अवस्थामा पुरूषको शव फेला परेको छ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बस्ने गोमन सिंह भनिने गोविन मगरको घाँटी छेदन गरेको अवस्थामा शव फेला परेको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले बताए।
उनका अनुसार हिजो साँझदेखि २९ वर्षीय मगर हराइरहेका थिए।
ती युवकको शव बुधबार बिहान १० बजे तिर फेला परेको हो।
घटनास्थलदेखि १०० मिटर उत्तर दूरीमा एउटा मोटरसाइकल पनि फेला परेको छ।
मोटरसाइकलमा गोविनलाई ल्याएर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।
स्थानीयवासीका अनुसार घटनास्थल नजिक फेला परेको मोटरसाइकल करिब १ महिनादेखि उनले नै चलाउँदै आएका थिए।
घटनास्थललाई स्थानीय प्रहरीले घेराबन्दी गरेको छ।
नेपाल प्रहरीको तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरू गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय झिलझिलेदेखि करिब १ किलोमिटर उत्तर सताक्षीधाम जाने बाटोमा छ।