सर्लाहीमा प्रहरीले तीन सय ९ केजी गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीका अनुसार शनिबार राति पर्सा गाउँपालिका-५ डोमोवा टोलबाट ना ४ ख ७७४८ नम्बरको ट्रकबाट सो गाँजा बरामद गरेको हो।
प्रहरीले ग्रामीण क्षेत्रको बाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ गाँजा ओसारपसार भइरहेको भन्ने विषेश सूचनाको आधारमा राति चेकिङ थालेको थियो। सोही क्रममा सुक्नाहाबाट पर्सातर्फ आउँदै गरेको ट्रक केहीबेर रोकिएको थियो।
शंका लागेपछि प्रहरीले जाँच गर्दा ट्रक चालक फरार भएका थिए। ट्रक स्टार्टमै राखेर उनी फरार भएका हुन्। प्रहरीले ट्रकको ढाला चेक गर्दा ११ पोकामा ३ सय ९ किलो गाँजा बरामद गरेको हो।
चालक र गाँजा ओसारपसार गर्नेहरूको खोजी भइरहेको प्रहरी निरिक्षक कुर्मीले जानकारी दिए।