युवा वैज्ञानिकहरूलाई संगठित गर्ने र उनीहरूको आवाज उठाउने उद्देश्यले युवा वैज्ञानिकहरुको संस्था नेसनल योङ एकेडेमी नेपाल (नयन) गठन गरिएको छ।
डा. वसन्त गिरीको अध्यक्षतामा गठित सात सदस्यीय तदर्थ समितिमा डा. बालकुमारी ओलिया, डा. विशेष खनाल, डा. सागर रेग्मी, डा. स्मृति पन्त, डा. सुरज भट्टराई र डा. उत्तमबाबु श्रेष्ठ छन्।
उक्त संस्था गठन गर्नुअघि नेपाली युवा अध्येताहरूले गत वर्ष भदौ, कात्तिक र पुसमा बृहत् भेला तथा छलफल गरेका थिए। सदस्यताका लागि निकट भविष्यमै निवेदन आह्वान गरिने उक्त संस्थाले जनाएको छ।
विश्वभर एकेडेमीलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रका रूपमा लिइन्छ। त्यसका प्राज्ञ वा सदस्यहरू प्राज्ञिक उत्कृष्टताका आधारमा छनौट गरिन्छन्। राष्ट्रिय युवा वैज्ञानिक एकेडेमीका सदस्यहरू पनि प्राज्ञिक उत्कृष्टताका आधारमा छनौट गरिने तदर्थ समितिका अध्यक्ष डा. वसन्त गिरीले बताए।
संस्थाको नाम नै युवा भएकाले सदस्य बन्न उमेरको हदबन्दी राखिएको छ। जुनसुकै शैक्षिक विधाका अनुसन्धानकर्ताले सदस्यता लिन पाउँछन्।
'यो एकेडेमी विशुद्घ वैज्ञानिकहरूको मात्र होइन, यसमा कानुन, समाजशास्त्र, मानवशास्त्र, चिकित्सा विज्ञान लगायत सबै विषयका अनुसन्धानकर्ताहरूले सदस्यता लिन पाउनेछन्,' संस्थाका सदस्य डा. सुरज भट्टराइले भने।
विश्वभर पछिल्लो समय युवा अध्येताहरूको एकेडेमी खोल्ने प्रयास बढ्दो छ। हालसम्म विश्वका ४१ देशमा त्यस्तो राष्ट्रिय एकेडेमी खोलिएको र उनीहरूसँग नेपालको युवा वैज्ञानिक एकेडेमीले हातेमालो गर्दै अघि बढ्ने विश्व युवा वैज्ञानिक एकेडेमीका सदस्यसमेत रहेका डा. उत्तमबाबु श्रेष्ठले बताए।
एकेडेमीले नेपाली युवा अध्येताहरूको अवस्थाबारे बुझ्न राष्ट्रिय स्तरको सर्वेक्षण पनि सुरू गरेको जनाएको छ। यस्तो सर्वेक्षण नेपालमा पहिलोपटक गरिन लागेको हो।
सर्वेक्षणपछि नेपालका युवा अध्येताहरूको वास्तविक अवस्था थाहा हुनेछ। यसले युवा वैज्ञानिकहरू केन्द्रित नीति निर्माणमा सहयोग पुग्ने संस्थाको भनाइ छ।