दाङमा सोमबारदेखि लागू हुनेगरी निषेधाज्ञा खुकुलो पारिएको छ। बिहानदेखि बेलुकासम्म बजार र सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन्।
आइतबार घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो।
‘सोमबारबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना र सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्ने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने ‘सार्वजनिक सवारी साधन पनि जोरबिजोरका आधारमा संचालन गर्ने निर्णय भएको छ।’
बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्मको अवधिमा भने निषेधाज्ञा कायमै रहने प्रजिअ रिजालले बताए।
यसअघि स्थानीय प्रशासनको निर्णयअनुसार बिहान ६ बजेदेखि १२ बजेसम्म मात्रै बजार तथा सवारी साधन सञ्चालन हुँदै आएका थिए।
जिल्लामा आइतबारसम्म कुल संक्रमितको संख्या ८ सय ७३ छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय २८ छ।