कीर्तिपुरमा घरबेटीको कुटपिटबाट डेरा गरी बस्ने पुरूषको मृत्यु प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
गत शुक्रबार दिउँसो कीर्तिपुर नगरपालिका ७ भाजंगलका प्रेमकृष्ण महर्जनको कुटपिटबाट आफ्नै घरको डेरामा बस्ने भारतीय नागरिक ४२ वर्षीय शम्भु चौधरीको मृत्यु भएको थियो।
प्रहरीले खबर पाएपछि प्रेमकृष्ण महर्जनलाई सोही दिन पक्राउ गरेको थियो। त्यही घटनामा प्रहरीले उनका दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई पनि शनिबार पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार चौधरीले सोही दिन महर्जनको घरबाट कोठा छोड्दै थिए।
‘उनीहरूबीच पानी थाप्ने विषयमा झडप भएको हो। त्यही क्रममा प्रेमले शम्भुलाई ढोकामा लगाउने काठको आग्लोले शरीरमा हिर्काउँदा घाइते भएका थिए,’ उनले भने। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।
त्यस घटनामा उनका दुई छोराको पनि संलग्नता देखिएको आरोप लागेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
‘यसमा धेरै कुराहरू खुलिसकेको छैन,’ एसपी राठौरले भने, ‘चौधरीले सबै पैसा पनि बुझाइसकेको छैन भन्ने कुरा छ। अनुसन्धान हुँदैछ।’
प्रहरीले उनीहरू तीनै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको जनाएको छ।