सवारीसाधनलाई लापरवाही पुर्वक चलाउने हो भने त्यसैले मालिक, चालक तथा परिवारको नै ज्यान लिन सक्छ।
पश्चिम नवलपरासीमा यस्तै घटना भएको छ। शनिबार साँझ टिपरले ठक्कर दिंदा सोही चालककी आमाको ज्यान गएको छ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं. ४ बेलारीमा पार्किङ गरी राखेको टिपर निकाल्ने क्रममा सोही टिप्पर चालककी आमा स्थानीय खेमकुमारी थापाको मृत्यु भएको हो।
चालक २८ वर्षीय गोबिन्द थापाले घरको कम्पाउण्डमा पार्किङ गरेर राखेको लु २ ख २२५९ नं. को टिप्पर निकाल्ने क्रममा आफ्नै आमा ६० वर्षीया खेम कुमारीलाई थापालाई ठक्कर दिएका थिए।
प्रदेश ५ प्रहरी कार्यालयका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थापाको शनिबार राति पौने ९ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।
आफैले चलाएको टिपरले आमालाई ठक्कर दिएपछि चालक गोबिन्दले सोही टिपरमा राखी अस्पतालमा ल्याएका थिए। अहिले ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
यसअघि शनिबार दिउँसो बुटवल धागो कारखाना नजिकै टिपरले स्कुटरलाई ठक्कर दिंदा एकजना प्रहरी जवानको मृत्यु भएको थियो।
लु २ ख ८९९ नं. को टिपरले ध १ प ९७९५ नं. को स्कुटरलाई दिउँसो साढे ३ बजे ठक्कर दिँदा कपिलबस्तु नगरपालिका वडा नं.४ तौलिहवा घर भई ईलाका प्रहरी कार्यालय बुर्तिवाङ बाग्लुङमा कार्यरत प्रहरी जवान ३३ वर्षीय अमित श्रेष्ठको मृत्यु भएको थियो।