तनहुँको भानु नगरपालिका– ११ का २८ वर्षीय बाबुराम आले विरुद्ध परेको बहुबिवाहको मुद्धामा अदालतले २०७३ मंसिर १५ गते सजायको फैसला दियो। अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
अदालतको फैसला लगत्तै फरार रहेका आले ४ वर्षपछि आइतबार पक्राउ परेका छन्।
तनहुँ प्रहरीले घरबाटै उनलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए। तनहुँ प्रहरीलाई अदालतबाट दोषी ठहर भएर फरार भएका प्रतिवादी पक्राउ गर्न आइतबार ठूलो सफलता मिलेको उनले बताए।
तनहुँ प्रहरीको विशेष टोलीले आइतबार मात्रै विभिन्न अपराधका मुद्धामा दोषी ठहर भएका ३५ जनालाई पक्राउ गरेको छ। जसमा ठगी, नागरिकता किर्ते, बहुबिवाह,, सार्वजनिक अपराध लगायतका मुद्धामा दोषी ठहर भएकाहरु छन्।
उनीहरुलाई पक्राउ पश्चात जिल्ला अदालतमा बुझाएको र अदालतले जरिवाना तिर्नुपर्ने भनेका प्रतिवादीसँग जरिवाना असुलेर छाडेको तथा कैद सजायको फैसला भएकालाई कारागार चलान गरेको डिएसपी तिमिल्सिनाले बताए।
तनहुँ प्रहरीले चलाएको फरार प्रतिवादी पक्राउ अभियानका क्रममा अहिलेसम्म १ सय ८ जनालाई पक्राउ गरिसकेको जनाएको छ। जसमा साउन यता मात्र १ सय ४ जना पक्राउ परेको डिएसपी तिमिल्सिनाले बताए।