दाङमा बाढीले बगाउँदै गरेका एक व्यक्तिको उद्धार गरिएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुरका रेशम नेपालीलाई चौखा खोलाको बाढीले बगाउँदै गर्दा स्थानीय र प्रहरीले उद्धार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक चक्रडम्मर पालले जानकारी दिए।
प्रहरी निरीक्षक पालका अनुसार उद्धार गरिएका नेपालीको अवस्थामा भने गम्भीर छ। नेपालीको टाउको र चिउँडोमा गहिरो चोट रहेको प्रहरीले बताएको छ। हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको पालले जानकारी दिए।
घर नजिकैको चौखा खोला तर्ने क्रममा बाढीले नेपालीलाई बगाएर करिब एक किलोमटर टाढासम्म पुर्याएको थियो। त्यही क्रममा स्थानीय र प्रहरीले उद्धार गरेको प्रहरी निरीक्षक पालले बताए।
आइतबार बेलुका सवा ८ बजेतिर खोलामा आएको बाढीले बगाउँदै गरेका नेपालीको उद्धार भएको थियो। त्यस्तै, मध्यरातिदेखि भारी वर्षाका कारण तुलसीपुर क्षेत्रमा झन्डै आधा दर्जन घरमा क्षति पुगेको छ। केही घर भत्किएको प्रहरीले जानकारी दिएको छ।