जिल्ला प्रहरी कार्यालय बाँकेले प्रतिबन्धित लागुऔषध अफिमसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका वडा नं. ८ निवासी ५३ वर्षीय धनबहादुर सेन र दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ निवासी २४ वर्षीय वसन्त घर्ती छन्।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले उनीहरूलाई बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुशुमबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए।
दाङबाट अफिमसहित मानिसहरू बाँके प्रवेश गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई मंगलबार बिहान साढे ६ बजेतिर पक्राउ गरेको डिएसपी खड्काले बताए।
सेनले बोकेको झोलामा १० वटा पोलिथिनका पोकामा अफिम फेला परेको प्रहरीेले जानकारी दिएको छ।
पक्राउ परेकाविरूद्ध कानुनी कारबाहीको प्रक्रिया सुरू भएको डिएसपी खड्काले बताए।
लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (६) को उपदफा (३) बमोजिम १५ वर्षदेखि जन्मकैद तथा ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
पक्राउ परेकाविरूद्ध आवश्यक अनुसन्धान सुरू भएको प्रहरीले बताएको छ।