पछिल्लो २४ घण्टामा रुपन्देहीका विभिन्न अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।
आईतवार रातिदेखी सोमबार साँझसम्म रुपन्देहीका विभिन्न अस्पतालमा उपचाररत् चार जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
पछिल्लो पटक सोमबार साँझ लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत् बुटवलकी एक संक्रमित महिलाको मृत्यु भएको छ।
बुटवल-११ की ७२ वर्षकी महिलाको सोमबार बेलुका साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन अस्पतालमा भर्ना भएकी उनको विगत १८ दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले स्वास्थ्य समस्या जटिल बन्दै गएपछि लामो समय भेण्टिलेटरमा उपचाररत् उनको मृत्यु भएको जानकारी दिए।
यसअघि सोमबार दिउँसो सिद्धार्थनगर नगरपालिकाकी महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा र कपिलवस्तुकी एक महिलाको कोरोना विशेष अस्पतालमा सोमबार बिहान साढे चार बजे मृत्यु भएको थियो।
त्यस्तै, कपिलवस्तुका एक पुरुष संक्रमितको भीम अस्पताल भैरहवामा आइतबार राति मृत्यु भएको थियो।