स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 'होम आइसोलेसन' मा रहेका संक्रमितहरूलाई आकस्मिक सेवा प्रदान गर्न उपत्यकाका सबै अस्पतालहरूलाई निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले होम तथा होटल आइसोलेसनमा रहेका संक्रमितहरू आकस्मिक सेवा लिनबाट बञ्चित भएको जनगुनासो आएको भन्दै त्यस्ता संक्रमितहरूलाई तत्काल सेवा प्रदान गर्न अस्पतालहरूलाई निर्देशन दिइएको जानकारी गराएका हुन्।
मन्त्रालयले टेकु अस्पतालसहित, पाटन, टिचिङ, भक्तपुर र सबै अस्पतालहरूलाई होम आइसोलेसनमा रहेका संक्रमितहरूलाई आकस्मिक सेवा प्रदान गर्न भनेको छ।
प्रवक्ता गौतमका अनुसार अस्पतालहरूले पोजेटिभ भएर अस्पतालमा आकस्मिक भर्ना भएका संक्रमितहरूको अस्पतालले उपचार गरिरहेको भए पनि यसअघि होम तथा होटलमा रहेका संक्रमितहरूलाई भने आकस्मिक सेवा प्रदान गरिएको थिएन।
साथै, मन्त्रालयले ननकोभिड बिरामीहरूको पनि उचित व्यवस्थापन गरेर उपचार गर्न सबै अस्पतालहरूलाई अनुरोध गरेको छ।