निर्माणाधीन पोखरा क्षेत्रीय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ।
सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोभिडका कारण केही समस्या हुने देखिएको छ। यद्यपी अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ।
विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, केबुल र लाइटिङ लगायतका कामहरु सम्पन्न भएका छन्। माटो कटान र फिलिङ गर्ने काम ९८ प्रतिशत सकिएको छ।
गाडी गुड्ने रोड, एक्सेस रोड र ट्रमिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ। कार पार्किङको काम पनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए।
निर्धारित समयभन्दा ६ महिना अघि नै काम सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना महामारी र लकडाउनका कारण चिनियाँ कामदार उतै रोकिएकाले धेरै समय काम हुन सकेन। लकडाउनले २ सय चिनियाँ कामदार रोकिएकाले निर्माण कार्य केही पर धकेलिएको उनले बताए।
विमानस्थलमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदार रहेका छन्। विमानस्थलमा निर्माण सामाग्रीको भने अभाव नरहेको उनले बताए।
लकडाउनअघि नै आवश्यक सामाग्री चीनबाट ल्याइएको र केही सामान भारतीय कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव नहुने उनको भनाइ छ।