चितवन राष्ट्रिय निकुञ्ज भित्र घोंगी खोज्न गएका बेला सेनाको निर्घात कुटपिटबाट ज्यान गुमाएका राजकुमार चेपाङको परिवारले अझै राहत पाएका छैनन्।
मृतकका परिवारसँग चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नगरपालिकाले राहत उपलब्ध गराउने सहमति गरेपनि अझै राहत नपाएका हुन्। निकुञ्जले ७ लाख रुपैयाँ र नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने सहमति भदौ १६ गते नै भएको थियो।
यसअघि सामान्य खुल्ला टहरोमा बस्दै आएका राजकुमारको घर निर्माण भने राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले निजी खर्चबाट गरिदिएका छन्।
घर निर्माणका लागि एक लाख रुपैयाँ भन्दा बढी खर्च गरेको उनले बताए। मृतकका बुबा विष्णुलाल चेपाङले सहमतिअनुसारको राहत रकम पाउन ढिलाई भइरहेको गुनासो गरे।
गत साउन १ गते राप्ती–२ का घोंगी खोज्नका लागि निकुञ्ज भित्र पुगेका राजकुमारसहितका ५ जनालाई सैनिकले निर्घात कुटपिट गरेका थिए। उक्त घटना भएको ८ दिन पछि राजकुमारको मृत्यु भएको थियो।
मृतक राजकुमारको परिवारलाई नेपाल आदिवासी जनजाती महासंघ अन्तर्राष्ट्रिय समन्वय समितिले एक लाख रुपैयाँ सहयोग गरेको छ।