प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्यायपालिकाका कामकारबाही र सुधारका प्रयासमा विश्वस्त हुन सबैलाई आग्रह गरेका छन्।
शनिबार संविधान दिवसको अवसर पारेर विज्ञप्ति र भिडियो सन्देश जारी गर्दै उनले भरोसायोग्य न्याय प्रणालीमा आफू प्रतिवद्ध रहेको बताएका हुन्।
'न्यायपालिकाको सुधारको विषयमा व्यक्त समसामयिक सुझावहरू सम्बोधनका लागि उपयुक्त पहलकदमी भएका छन्। न्यायपालिकाका काम कारबाही एवम् सुधारका प्रयासहरूप्रति विश्वस्त हुन पनि म सबैमा हार्दिक आग्रह गर्दछु,' उनको विज्ञप्तिमा भनिएको छ, 'संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गर्दछु।'
अहिलेको विषम परिस्थितिमा नयाँ आशा, नयाँ क्षितिज र अवसरको खोजी गर्दै संविधानको कार्यान्वयन गर्नुपर्ने दायित्व सबैका सामु रहेको पनि उनले बताएका छन्।