बिहीबार रातिदेखि बुटवलबाट बेपत्ता सिनियर अहेब विष्णुप्रसाद नेपाल मृत अवस्थामा फेला परेका छन्।
नेपालको तिलोत्तमा नगरपालिका वडा नं १५ बिहुलीमा स्थानीय कुलोको छेवैमा मृत अवस्थामा फेला परेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए।
स्थानीयले मृत पुरुषको शव फेला पारेपछि प्रहरी बोलाइएको र उक्त शव विष्णु नेपालकै भएको सनाखत भइसकेको उनले बताए।
शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत थिए।
उनले सोही ठाउँमा भावना मेडिकल हल समेत सञ्चालन गर्दै आएका थिए।
नेपाल बिहीबार राति सवा १२ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केको यता उनी बेपत्ता थिए।
खोजतलासका क्रममा नेपालको मोटरसाइकल बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला परेको थियो।
नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुनसक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर तिनदिन देखि खोजी गरेको भएपनि फेला परेका थिएनन्।
उनका दाजु छवि नेपालको पनि आइतबार काठमाण्डौमा निधन भएको थियो।