गुल्मीको रेसुङ्गा नगरपालिका १२ स्थित रानीपोखरी निम्न माध्यमिक विद्यालयको विषयलाई लिएर नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
भूकम्पका कारण भत्किएको सो विद्यालयको भवन पुनर्निर्माणका विषयमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ता बीच विवाद भएको थियो। उक्त विवादपछि नेकपा कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई पिटेको नेपाली कांग्रेसले आरोप लगाएको छ।
सोही घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै नेपाली कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गर्न पुगेका कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।
प्रदर्शनमा गएको कांग्रेसको समूह प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप परेको थियो। झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, क्षेत्र नम्बर २ ‘क’ का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामी लगायत घाइते भएका छन्।
त्यस्तै प्रहरीतर्फ पनि प्रहरी निरीक्षक राजकुमार रावलसहित चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। दुईजना सुरक्षाकर्मीको हेलमेटमा क्षति पुगेको पन्तले बताए।
प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नहरुलाई उन्मुक्ति दिइरहेकोसभापति श्रेष्ठले आरोप लगाएका छन्।
रानीपोखरी निम्न माध्यमिक विद्यालय भत्किएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत काम हुनेगरी चारकोठे भवनका लागि ७० लाख ४० हजार बजेट बिनियोजन भएको थियो।
बजेटको कार्यान्वयनको लागि विद्यालयमा दुई वटा सर्वदलीय तथा सर्वपक्षीय भेलाको आयोजना भयो। जसमा साउन ९ गतेको भेलाले पुरानो भवन भत्काउने र साउन २५ गतेको भेलाले विद्यालय व्यवस्थापन समितिको रेखदेखमा नयाँ भवनको निर्माण सुरु गर्ने निर्णय गरिएको थियो।
व्यवस्थापन समितिमार्फत हुने कुनैपनि काममा ठेक्का दिन नपाइने भए पनि निर्माण समितिले विनोद विकलाई १६ लाख ५० हजारमा अघोषित रुपमा भदौ १५ गते निर्माणको जिम्मा दिएको थियो।
त्यसपछि स्थानीय गिरीप्रसाद महाकिम लगायतले ठेक्का दिने कार्य रोक्न भदौ १७ गते वडा कार्यालयमा निवेदन दिए। तर व्यवस्थापन समितिले उनीहरुको निवेदनको वेवास्ता गर्दै ठेकेदारमार्फत काम गराउन खोज्दा झडप भएको हो।
गिरीप्रसादले वडाध्यक्ष लगायतको समूहले ठेकेदारमार्फत काम गराएर विद्यालयको ठूलो रकम हिनामिना गर्न खोज्दा झडप भएको आरोप लगाए।
साउन २५ कै निर्णय बमोजिम भदौ १९ गते निर्माण व्यवसायीमार्फत दुई जना भवन भत्काउन पुगेका थिए । तर त्यहाँ काम नभई झडप भयो। झडपमा स्थानीय अमित बस्नेत र केयरसिंह टन्डन घाइते भए।
उनीहरुलाई स्थानीय दानबहादुर तङ्नामी, भिम रास्कोटी, ओम बहादुर टन्डन र खेत बहादुर टन्डनले कुटपिट गरेको वडाध्यक्ष टन्डनले बताए।
शिक्षा ऐनको नियमअनुसार वडाध्यक्ष टन्डन उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष छन्। उनले सोही ठाउँकै बोर्डिङ संचालक ओम बहादुर टन्डनले सरकारी विद्यालय राम्रो बनाउँदा आफ्नो बोर्डिङलाई असर गर्ने भएकोले स्थानीयमार्फत काममा अवरोध गरेको आरोप लगाएका छन्।