मिडिया हाउस सञ्चालकहरूले ‘मिडिया अलाइन्स नेपाल’ गठन गरेका छन्।
एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा बुधबार उनीहरूले तदर्थ समिति घोषणा गरेका हुन्।
सल्लाहकारमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोद ज्ञवाली छन्। अलाइन्सको उपाध्यक्षमा राजधानी न्युज पब्लिकेशन प्रालिका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टेलिभिजन प्रालिका अध्यक्ष राजु कँडेल छन्।
महासचिव इमेज च्यानल प्रालिका सिइओ लक्ष्मण हुमागाइँ रहेको अलाइन्सले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस्तै कोषाध्यक्षमा इम्प्रेसन पब्लिकेशन तथा मिडिया प्रालिका सिइओ उज्ज्वल शर्मा छन्।
सदस्यहरूमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष विजय पौडेल, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, एपीवान टेलिभिजनका सिइओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिकी सिइओ सम्वृद्धि ज्ञवाली छन्।
उनीहरूले सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाई सञ्चार उद्यममा देखा परेका साझा समस्याको समाधान गर्ने उद्देश्यले आफूहरू अलाइन्समार्फत् एकजुट भएको बताएका छन्।
‘सञ्चार उद्यममा देखा परेका समस्याहरूको एकीकृत समाधान गर्दै तटस्थ, निष्पक्ष र जनउत्तरदायी सूचना समाजको निर्माणमा अलाइन्स सक्रिय रहनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार, कर्मचारी र कामदारको हकहित संरक्षणका साथै उद्यमीकाे लगानी संरक्षणमा पहल गर्ने उद्देश्यले सञ्चार उद्यमहरूको साझा संस्थाका रूपमा अलाइन्स सथापना गरिएको हो।’