बाँकेमा बर्दियाका थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
बर्दिया नगरपालिका वडा नं. ३ बनियाभार निवासी ३९ वर्षीय एक पुरूषको बुधबार बिहान साढे १० बजे नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भदौ २९ गते उनी भेरी अस्पतालमा भर्ना भएका थिए। त्यसअघि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २८ गते पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो।
रिपोर्ट नेगेटिभ आएपछि उनलाई बर्दियास्थित घर लगिएकोमा समस्या भएपछि फेरि भदौ २९ गते बाँकेस्थित भेरी अस्पताल ल्याइएको थियो।
फोकल पर्सन श्रेष्ठका अनुसार भेरीमा पिसिआर परीक्षण गर्दा भदौ ३० गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो।
दुबै फोक्सोमा गम्भीर प्रकृतिको निमोनिया भएपछि बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार नआएपछि उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए।
मंगलबार दिउँसोमात्रै बर्दियाको ठाकुरद्वार नगरपालिका वडा नं. ७ निवासी ६४ वर्षीय पुरूषको बाँकेमै उपचारका क्रममा मृत्यु भएको थियो।
योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका ५ र बाँकेका ७ गरी १२ जनाको हालसम्म कोरोना संक्रमणले मृत्यु भइसकेको छ।