कपिलवस्तुको कृष्णनगरमा ३७ किलोग्राम चरेशसहित २ महिला पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय कृष्णनगरले कार्यालय अगाडि चेक गर्ने क्रममा सुटकेस र शरीरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर मनहारी गाउँपालिका वडा नं. ९ बस्ने वर्ष ४० की शान्ति तामाङ र रोल्पा घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका ९ बनियाभार बस्ने वर्ष ३५ की बसन्ती घर्ती छन्।
उनीहरूको साथबाट ३७ किलोग्राम चरेश बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।
कपिलवस्तु प्रहरीले सोमबार पनि यशोधरा ७ मर्यादपुरबाट लागुऔषधसहित २ भारतीय नागरिक पक्राउ गरेको थियो।
पछिल्लो समय जिल्लामा लागुऔषधको ओसारपसारमा संलग्नहरू पक्राउ परिरहेको प्रहरीले जनाएको छ।