बैंकिङ कसुरमा झण्डै १२ करोड जरिवाना र तीन वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ परेकी छन्।
इलाका प्रहरी कार्यालय बनेपाले ५६ वर्षीया जयन्ती केसीलाई काभ्रे बनेपा नगरपालिका ६ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाको टोलीले बुधबार पक्राउ गरेको काभ्रेका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।
उनीमाथि २०७१ वैशाख २१ गते उच्च अदालत पाटनले दुई वटा बैंकिङ कसुरको मुद्दामध्ये एकमा ९ करोड ४७ लाख ९२ हजार १ सय १६ रूपैयाँ र अर्कोमा २ करोड ३५ लाख रूपैयाँ गरी जम्मा ११ करोड ८२ लाख ९२ हजार १ सय १६ जरिवाना र तीन वर्ष कैद सजाय दिएको थियो।
उनलाई पक्राउ गरी जिल्ला अदालत धुलिखेलमा पेश गरिएको कार्यालयले जनाएको छ। साथै उनलाई सजाय भुक्तानीको लागि अदालतले जिल्ला कारागार धुलिखेल पठाउन आदेश दिएको छ।