सरकारले कोरोना संक्रमण दर बढे पनि त्यसैका आधारमा समुदायमा संक्रमण गइसक्यो भन्न नमिल्ने जनाएको छ।
राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सेरोप्रिभिलेन्स सर्भे नगरी संक्रमण समुदायमा गयो भन्न नसकिने बताएका हुन्।
‘साउन १५ देखि संक्रमणको दर बढेको छ, कम्युनिटीमा गएको हो कि भन्ने पनि देखिन्छ, तर सेरोप्रिभिलेन्स सर्भे नगरी भन्न सकिने अवस्था छैन,’ स्वास्थ्य सचिव अर्यालले भने, ‘आजको मितिसम्म आइसियू तथा भेन्टिलेटरको अभाव छैन। थप ४ सय बेड तयारी हुने अवस्थामा छ।भेन्टिलेटरको संख्या १ हजार जति छ।’
परीक्षणका क्रममा रहेका खोप ल्याउने/नल्याउने छलफलमै
बैठकमा स्वास्थ्य सचिव अर्यालले कोरोनाविरुद्ध बन्ने क्रममा रहेका खोपहरूको क्लिनिकल ट्रायल नेपालमा गर्ने कि नगर्ने भन्नेबारे छलफलमै रहेको बताए ।
‘खोपको ट्रायल गर्न दिने कि नदिने भन्नेमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफलमै छौं । यत्तिकै ल्याएर प्रयोग गरिहाल्दा त्यसले समस्या निम्तिन पनि सक्छ। तर कुनै देशमा प्रयोग भइसकेको खोप भने ल्याउन सकिन्छ’ उनले भने
बैठकमा विज्ञका रूपमा निम्त्याइएका डा. प्रभात अधिकारीले काठमाडौंमा दिनमा १०÷१५ वटा जटिल केस थपिँदा आइसियूको हाहाकार हुने दाबी गरे।
आफूहरूको पछिल्लो केही दिन बिरामीका लागि आइसियू बेड खोज्नमै बितिरहेको उनको भनाइ थियो। उनले नेपालमा कोरोनाबाट हुने मृत्युदर कम हुनुको कारण सक्रिय उमेर समूहमा बढी संक्रमण देखिनु नै भएको बताए।
बेलायत, अमेरिका, चीन, रुस लगायतका देशमा बनेका खोप अहिले विभिन्न देशमा क्लिनिकल ट्रायलका क्रममा छन् । तेस्रो चरणको परीक्षणमा रहेका खोपहरू नेपालमा पनि ल्याउनुपर्ने आवाज कतिपय विज्ञहरूले उठाउने गरेका छन्।
बैठकमा समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले कोरोना नियन्त्रण सरकारको मात्र नभएर नागरिकसहित सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताइन्।
साथै उनले चाडबाड नजिकिएको अवस्थामा शहरबाट गाउँघर फर्किनेको संख्या बढ्ने र त्यसले जोखिम वर्गमा पर्ने वृद्धवृद्धा तथा दीर्घरोगीहरूमा कोरोना संक्रमण पुग्नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
त्यसक्रममा सांसदहरू खिमलाल भट्टराई, कोमल वलीलगायतले कोरोना संक्रमणसम्बन्धी विभिन्न विषयमा स्वास्थ्य सचिव अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।