राष्ट्रिय मानवअधिकार आयोगले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग भएका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
साथै आयोगले अनसनरत् केसीको जीवन रक्षाप्रति संवेदनशील बन्न पनि सरकारलाई सम्झाएको छ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गरी आयोगले सरकारसँग भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको हो।
‘चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको छ,’ सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय बागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
‘उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक–पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्च जोखिम रहेको अनुगमनको क्रममा बुझिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
आयोगले चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, केसीसँग सरकारले विगतमा पटक–पटक गरेका सम्झौताहरुप्रति गम्भीर हुन विज्ञप्तिमा अनुरोध गरेको छ।
‘जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौतहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ। साथै, आपसी विमतिका विषयहरू वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ,’ आयोगको विज्ञप्तिमा भनिएको छ।