प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले अनसनरत डाक्टर गोविन्द केसीका मागमा ऐक्यवद्धता जनाएको छ।
शुक्रबार नेविसंघ अध्यक्ष राजिव ढुंगाना नेतृत्वमा पदाधिकारीसहित प्रतिनिधिमण्डलले अनसनरत डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पताल पुगेर भेटेका हुन्।
डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका सबै मागमा नेविसंघले ऐक्यवद्धता जनाएको महामन्त्री दीपक भट्टराईले जानकारी दिए।
‘डाक्टर केसीका सबै मागमा हाम्रो ऐक्यवद्धता छ। सरकारले डाक्टर केसीसँग तुरून्त वार्ता गरी मागहरू सम्बोधन गर्नुपर्छ,’ महामन्त्री भट्टराईले सेतोपाटीसँग भने।
१९ औं पटकको १२ औं दिनको अनसनले गर्दा डाक्टर केसीको स्वास्थ्य कमजोर हुँदै गएको भन्दै नेविसंघले डाक्टर केसीको जीवन रक्षाको पनि माग गरेको छ।
जुम्लामा अनसन बसेका केसीलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा राखिएको छ।
‘माफियाको चंगुलमा परेर चिकित्सा शिक्षा खस्कँदो छ। सुधारका लागि डाक्टर केसीले उठाएका माग तुरून्तै समाधान गर्न सरकारको हामी ध्यानाकर्षण पनि गराउँछौं,’ उनले भने।