अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नीयाले सन् २०३५ सम्ममा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ।
राज्यका गभर्नर गाभिन न्युसमले सन् २०३५ सम्ममा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको बिक्री वितरणमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका हुन्।
क्यालिफोर्नियाले कार्बन प्रदूषणका कारण बढिरहेको तापक्रम, डढेलो तथा सवारीसाधनका कारण वायुको गुणस्तरमा पर्दै आएका असरविरूद्ध पहिलो पटक यस्तो आक्रामक निर्णय लिएको हो।
'सवारीसाधनको प्रदुषण नरोकी सन् २०४५ सम्ममा कार्बनमुक्त अर्थव्यवस्था बनाउने लक्ष्यमा पुग्न सक्दैनौं,' गभर्नर न्युसमले भनेका छन्,'हामीले नयाँ कोर्स बनाउँदैछौं। दृढ लक्ष्यका साथ सन् २०३५ सम्ममा हामी क्यालिफोर्नियामा पेट्रोल तथा डिजेलबाट चल्ने इन्जिनहरूको बिक्री वितरण हटाउँछौं।'
कानून लागु भएपछि पट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनहरू किन्न पाइने छैन। आफूसँग भएका सवारीसाधन भने चलाउन पाइनेछ।
'तपाईंहरूले आफूसँग भएको गाडी तथा प्रयोगमा आइसकेको गाडी भने किन्न सक्नुहुन्छ,' उनले भने,'हामी त्यसबापत् केही शुल्क लिदैनौं।'
४ करोड जनसंख्या भएको क्यालिफोर्नियामा अमेरिकामा वार्षिक रूपमा बिक्री हुनेमध्ये १० प्रतिशत नयाँ गाडी बिक्री हुन्छन्। क्यालिफोर्निया विद्युतीय सवारीसाधनको लागि राम्रो बजार भएको शहर हो। अहिले त्यहाँ ७ लाख ५० हजार विद्युतीय सवारीसाधन गुड्छन्। क्यालिफोर्नियामा ३४ वटा विद्युतीय सवारीसधान बनाउने उद्योगहरू समेत छन्।
गभर्नरको कार्यालयका अनुसार क्यालिफोर्नीयामा आधाभन्दा बढी वायु प्रदूषण पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनले गर्ने गरेको छ। जसले गर्दा लस एन्जलस र राज्यको सेन्ट्रल भ्यालीका शहरहरूमा वायुको गुणस्तर खराब छ।
साथै क्यालिफोर्नियाको एयर रिसोर्स बोर्डले पेट्रोल तथा डिजेलबाट चल्ने मध्ययम तथा ठूला मालवाहक सवारिसाधनलाई सन् २०४५ सम्ममा शून्य बनाउने नियम बनाउने भएको हो।