रौतहटको गढीमाई नगरपालिका-३ गम्हरियाकी ३५ वर्षीया मिन्त्रादेवी बैठाको हत्या जग्गा विवादका कारण भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले उनको हत्या जग्गा विवादका कारण भएको प्ररम्भिक निष्कर्ष निकालेको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाँउका ४० वर्षीय जमसैद मियाँ (आलम), ३५ वर्षीय दाउद मियाँ, ३२ वर्षीय हारूण रसिद र ४० वर्षीय महम्मद ईसराफुल मियाँ छन्। उनीहरूमध्ये जमसैद मुख्य आरोपी रहेको प्रहरीको भनाइ छ।
उनीहरूलाई प्रहरीले घटना भएको एक महिनापछि आइतबार साँझ पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारी दिए। ‘उनीहरू फरार थिए। हिजो पक्राउ परेपछि हत्याको कारण प्ररम्भिक रूपमा खुल्न आएको हो,’ एसपी शाहले भने।
मिन्त्रादेवी बैठा गत भदौ १४ गते घरबाट घाँस काट्न निस्केकी थिइन्। उनको उखुबारीमा घाँटी कसेको अवस्थामा शव फेला परेको थियो।
यस घटनामा फरार भएका व्यक्तिहरू पक्राउ नपर्दा किन हत्या भएको भन्ने खुल्न सकेको थिएन। जमसैद आलमका बुबा अनवर हुसैनले पहिले ऋण लिँदा चुक्ता गर्न नसकेपछि अदालतबाट नै सकारी गरी ऋण दिने व्यक्तिले उक्त जग्गा लिएको थिए।
अदालतबाट सकारी लिए पनि जमसैद आलमले उक्त जग्गामा भोगचलन गर्न दिएका थिएनन्।
पछि सोही जग्गामध्ये केही भाग मिन्त्रादेवीका श्रीमान् सकल बैठाले किनेका थिए। उनीहरूले भोगचलन गर्न थालेपछि जमसैद आलमले अदालतमा सकल बैठालाई प्रतिवादी बनाई लिखत बदर गर्न मुद्दा दिएका थिए।
तर, उक्त मुद्दा सकल बैठाको पक्षमा भएको थियो। एसपी शाहका अनुसार यही विषयमा पहिले पनि पटक-पटक कुटपिट भएको थियो। हत्या हुनु एक हप्ताअघिमात्रै पनि आलमले मिन्त्रादेवीलाई बाख्रा चराउने क्रममा धम्की दिएका थिए।
‘मेरो जग्गा फिर्ता किन नगरेको? तेरो श्रीमान् पनि अहिले काठमाडौंमा छ। अब म तिम्रो यस्तो अवस्था बनाइदिन्छु कि गाउँ समाजले समेत थुक्छ,’ धम्कीलाई उद्धृत गर्दै एसपी शाहले भने।
यही कारणले हत्या गरेको कुरा उनीहरूले समेत स्वीकारेको एसपी शाहले बताए। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत रौतहटबाट सात दिनको म्याद लिइएको छ।