भारतसँग सीमाना जोडिएका सीमावर्ती नाकाहरूबाट हरियो मटर (केराउ) अत्यधिक मात्रामा तस्करी हुने गरेको पाइएको छ।
तेस्रो मुलुकबाट अनुदानको रूपमा निकै सस्तो दरमा नेपाल आउने केराउ भारत तस्करी हुने गरेको हो। बुधबार प्रहरीले पर्साबाट दुई करोड ६० लाख रुपैयाँ बराबरको केराउ पक्राउ गरेको छ।
प्रदेश नम्बर २ प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-१६ इनर्वाको नेपाल-भारत सीमा नजिकैबाट उक्त बराबरको केराउ बरामद गरिएको हो।
भारततर्फ तस्करी गर्ने उद्देश्यले गोदाममा राखिएको ६५०० बोरा केराउ बरामद गरिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।
उक्त बोरामा तीन लाख पचास हजार केराउ रहेको उनले बताए।
केराउ बाराको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रा.लि. परवानीपुर-३ बाट वीरगन्ज लगिएको प्रहरीले जनाएको छ।
उक्त ट्रेडिङ ललितपुरका वेदान्तजंग राणाको हो। केराउसँगै प्रहरीले फर्मका म्यानेजर प्रभात श्रेष्ठ र ना६त ८७१० नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको छ।
नेपालमा अनुदानकै रूपमा क्यानडाबाट हरियो केराउ आउने गरेको छ। यसको बजारमूल्य हाल ८०-९० रुपैयाँ प्रतिकिलो पर्छ। तर, यही केराउ भारतमा भने १२० रुपैयाँ भारु पर्ने गरको छ।
नेपालमा सस्तो दरमा पाइने र भारत लैजाँदा निकै फाइदा हुने गरेकाले चोरी तस्करी बढेको प्रहरीको भनाइ छ।
कानुनत: तेस्रो देशबाट आयातित सामग्री पुन: अर्को देश निकासी गर्न पाइँदैन।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले पक्राउ परेको केराउबारे अनुसन्धान थालिएको बताइन्।