नेपाल एस्ट्रोनोमिकल सोसाइटीले शुक्रबारदेखि 'नासा इन्टरनेसनल स्पेस एप्स च्यालेन्ज २०२०' सुरू गर्ने भएको छ।
शुक्रबारदेखि आइतबारसम्म सात वटै प्रदेशका आठ स्थानमा यस कार्यक्रम सञ्चालन हुने भएको हो।
नासा इन्टरनेसनल स्पेस एप्स च्यालेन्जमा देशभित्र र बाहिरका आठ सय नवप्रवर्तनकारी सोच भएका युवाहरू माझ विश्वले सामना गरिरहेका छ वटा मुख्य समाधन खोज्ने प्रयास गरिनेछ।
यसबारे थप बुझ्न यो लिंकमा क्लिक गर्न सोसाइटीले आग्रह गरेको छ।
https://2020.spaceappschallenge.org/challenges
यस कार्यक्रममा १३ वर्षभन्दा माथिका जुनसुकै उमेर समूह वा शैक्षिक पृष्ठभूमि भएका इच्छुक नेपाली तथा विदेशी नागरिकले सहभागिता जनाउन सक्नेछन्।
यसमा सहभागी हुन सोसाइटीको वेबसाइटमा रहेको लिंकमार्फत आवेदन फारम भर्नुपर्नेछ।
लिंकः http://nepalastronomicalsociety.org/spaceapps
भर्चुअल माध्ययमबाट हुने यस कार्यक्रमको लागि कुनै पनि शुल्क नलाग्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
यसको मूल्यांकन गर्न प्रत्येक ठाउँबाट छ जनाको निर्णायक मण्डल समेत बनाइसकेको छ।
यस च्यालेञ्जमा एपमात्रै बनाएर नभइ पृथक कामहरू प्रस्तुत गर्नुपर्ने अध्यक्ष भट्टराईले बताए।
‘यो ह्याकथन कार्यक्रम जस्तो होइन। यसमा हामीले एप मात्रै नभइ अन्य इनोभेटिभ कामहरू गर्नुपर्ने हुन्छ। जस्तै इन्फोग्राफिक्स बनाउने, भिडिओ स्टोरी बनाउने जस्ता कामहरू हुन्छन्,’ अध्यक्ष भट्टराईले भने, ‘छ वटा चुनौतीबाट एउटा चुनेर त्यसलाई ४८ घण्टामा सम्पन्न गर्नुपर्नेछ।’
यसमा आठ स्थानबाट उत्कृष्ट रहेको दुई टोलीलाई निर्णायक मण्डलबाट छनोट गरी ग्लोबल अवार्डको लागि अमेरिकी अन्तरिक्ष संस्था नासामा सिफारिस गरिनेछ।
यस कार्यक्रममा देशमात्रै नभइ विदेशीहरूले समेत सहभागी जनाएको अध्यक्ष भट्टराईले जानकारी दिए।