यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलबारे अध्ययन गर्ने तीन वैज्ञानिकले पाएका छन्।
मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले भौतिक शास्त्रतर्फको पुरस्कार रोजर पेनरोस, रिनहार्ड गेन्जल र आन्ड्रेय गेजलाई दिएको हो।
भौतिक शास्त्रतर्फ यो १ सय १४ औं नोबेल पुरस्कार हो।
एकेडेमीले उनीहरूलाई १० करोड स्विडिस क्रोनर दिने घोषणा गरेको छ। त्यसको आधा रकम पेनरोसले पाउने छन् भने बाँकी गेन्जल र गेजले बाँड्नेछन्।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पेनरोसले अल्वर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तअनुसार ब्ल्याक होल बन्ने कुरा पत्ता लगाएका थिए।
युनिभर्सिटी अफ क्यालिफोर्निया, ब्रेकलीका प्राध्यापक गेन्जल र युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलसकी प्राध्यापक गेजले ग्यालेक्सीको केन्द्रमा एउटा अदृश्य तर निकै ठूलो वस्तुले हाम्रो तारामण्डललाई सन्तुलनमा राख्छ भन्ने पत्ता लगाएका थिए।
८९ वर्षीय पेनरोस बेलायती नागरिक हुन्। त्यस्तै, ६८ वर्षीय गेन्जल जर्मन र गेज ५५ वर्षीय अमेरिकी नागरिक हुन्। गेज भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाउने चौथो महिला हुन्। उनले आफ्नो कामले अरूलाई पनि प्रेरणा मिल्ने बताइन्।
सोमबारमात्रै एकेडेमीले चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरेका थिए। चिकित्साशास्त्र तर्फको पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकले पाएका थिए।
अब बुधबार एकेडेमीले रसायन शास्त्रतर्फको पुरस्कार घोषणा गर्नेछ।