स्ट्यानफर्ड विश्वविद्यालयका पल मिलग्रम र रबर्ट विल्सनलाई सन् २०२० को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ।
लिलामीमार्फत गरिने कारोबारको सिद्धान्त र त्यसको उपयोग विषयमा गरिएको शोध र उनीहरूले निकालेको व्यावहारिक समाधानका लागि यो पुरस्कार दिइएको हो।
यी दुई अर्थशास्त्रीले अमेरिकामा मोबाइल फोनको फ्रिक्वेन्सी बिक्री-वितरणको विधि तर्जुमा गरेका थिए। कुनै पनि कारोबारमा बेच्नेले बढी र किन्नेले कम मूल्यमा किन्न खोज्छन्। सबै किसिमका वस्तु तथा सेवा किनबेच गर्दा किन्ने र बेच्नेले मोलतोल गरेर सजिलै मूल्य तय गर्न सक्दैनन्। व्यक्तिगत, संस्थागत तथा सरकारी कारोबारमा यस्तो अप्ठ्यारो स्थिति आउन सक्छ।
खुला वा गोप्य बोल-कबोलको विधिबाट सेयर कारोबार, पुराना चित्रकला, भौतिक सम्पत्तिदेखि बिजुलीको किनबेच, अनलाइन विज्ञापन, खानीजस्ता प्राकृतिक स्रोतको रोयल्टी निर्धारण र रेडियो स्पेक्ट्रमको बिक्रीमा उनीहरूले विकास गरेको विधि प्रयोग हुँदै आएको छ। हवाई विमान अवतरणको तालिकादेखि माछा मार्ने कोटा निर्धारणमा पनि उक्त विधि प्रयोग हुन्छ।
'परम्परागत विधिबाट अत्यन्तै कठिन रहेको बोल-कबोलमार्फत हुने वस्तु तथा सेवाको कारोबारलाई नयाँ ढंगले डिजाइन गर्न उनीहरूले विकास गरेको विधिले निकै सहयोग पुर्याएको छ,' रोयल स्विडिस एकेडेमी अफ साइन्सेजको विज्ञप्तिमा उल्लेख छ।
विभिन्न व्यक्ति र व्यावसायिक संस्थाहरुका भिन्न किसिमका सूचना, उनीहरूका प्राथमिकता, उनीहरूले आकलन गर्ने मूल्य र रणनीति भिन्न हुने अवस्थामा सार्वजनिक स्रोतहरूको लिलामलाई बढीभन्दा बढी समाजको हितमा हुने गरी उनीहरूले विधि तर्जुमा गरेका हुन्।
यस्तो वैज्ञानिक र पारदर्शी विधिको अभावमा विभिन्न मुलुकमा राज्यले ठूलो लाभ लिनसक्ने किनबेचहरू, पहुँचका आधारमा आसेपासेलाई दिने वा अत्यन्तै कम मूल्यमा दिने गरिएको छ। ब्राजिल र भारतमा खानी र रेडियो फ्रिक्वेन्सी वितरणमा भएको यस्तै किसिमको घोटाला ठूलो राजनीतिक विवादको विषय बनेको थियो।
नेपालमा पनि रेडियो फ्रिक्वेन्सी वितरण विवादास्पद बन्दै आएको छ।
'यो असाध्यै खुसीको समाचार हो। म धेरै खुसी छु,' क्यालिफोर्नियाबाट पुरस्कार विजेता ८३ वर्षीय विल्सनले भनेका छन्। विल्सन आफूसँगै पुरस्कार जितेका मिलग्रमका थेसिस एडभाइजर पनि हुन्।
विल्सन, मिलग्रम र प्रेस्टन म्याकाफीले सन् १९९४ मा अमेरिकी फेडरल कम्युनिकेसन कमिसनका लागि बोल-कबोल मार्फत रेडियो स्पेक्ट्रम बिक्रीको विधि तर्जुमा गरेका थिए। मिलग्रमले गुगल, याहु, माइक्रोसफ्ट जस्ता कम्पनीले सेयर जारी गर्ने बेलामा पनि परामर्शदाताको काम गरेका थिए।
'उनीहरूले सुरूमा यस्तो विधिको आधारभूत अध्ययन गरेका थिए,' इकोनोमिक साइन्स प्राइज कमिटीका अध्यक्ष पिटर एरिक्सनले भनेका छन्, 'पछि उनीह/"ले त्यसलाई व्यावहारिक प्रयोग कसरी गर्न सकिन्छ भन्ने ढाँचा विकास गरे। यसखालको प्राज्ञिक अध्ययन र व्यावहारिक विधिको विकास विरलै हुन्छ।'
परम्परागत बोल-कबोल विधिमा प्रतिस्पर्धीहरूले एकअर्काको रणनीति पहिल्याउन खोज्ने, अनावश्यक रूपमा मूल्य बढाउने वा साँठगाँठ गरेर अनुचित लाभ उठाउने सम्भावना उच्च हुन्छ। यो विधिको प्रयोगबाट क्रेता, बिक्रेता र करदाता सबै पक्षको जित भएको विल्सन बताउँछन्।
'आगामी दिनमा नवीकरणीय ऊर्जाको क्षेत्रमा यो विधि प्रयोग हुन सक्छ,' उनले भने, 'यो चुनौतीपूर्ण छ तर यसको प्रयोगबाट हामी सबै लाभान्वित हुन सक्छौं।'
कुनै स्रोत वा सम्पत्ति हात पार्न प्रतिस्पर्धीहरूले अनावश्यक रूपमा त्यसको मूल्य बढी बनाइदिन्छन्। यसलाई अर्थशास्त्रीहरूले 'विनर्स कर्स' नाम दिएका छन्।
'हामीले विनर्स कर्सको समस्या सुल्झाएका हौं भन्ने लाग्छ,' विल्सन भन्छन्।
वायु तथा सौर्य ऊर्जाको क्षेत्रमा यो विधि व्यापक प्रयोग हुन सक्ने उनको ठम्याइ छ।
'यी विभिन्न खालका स्रोत उपयोगका लागि हामीले बजार विकास गर्नुपर्नेछ। ताकी यसले भविष्यमा माग र आपूर्तिबीच सन्तुलन कायम राख्न सकोस्,' विल्सनले भने।
यी दुई अर्थशास्त्रीले एक करोड स्विडिस क्रोनर बराबर पुरस्कारमा साझेदारी गर्ने छन्। यसपालि कोरोना महामारीका कारण उनीहरूले स्टकहोम पुगेर पुरस्कार भने थाप्ने छैनन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)