रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित ड्राइभरटोलमा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको ज्यान गएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं १ ड्राइभरटोल प्रहरी चौकी अगाडि भएको दुर्घटनामा अरु २ जना घाइते भएको प्रहरीले जनाएको छ।
बुटवलबाट मणिग्राम तर्फ जाँदै गरेको मोटरसाइकल र बुटवलबाटै नयाँमिलतर्फ जाँदै गरेको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा लु ३३ प ४९४७ नं को मोटरसाइकलमा पछाडि सवार सिद्धार्थ नगरपालिका वडा नं ९ बस्ने २८ वर्षीय सुदीप घिमिरेको मृत्यु भएको प्रहरीले बताएको छ।
मोटरसाइकल चालक गुल्मी छत्रकोट गाउँपालिका वडा नं ४ घर भई तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राम बस्ने सरोज पन्त गम्भीर घाइते छन्।
त्यसैगरी लु ५४ प ४७१७ नं को स्कुटर चालक तिलोत्तमा नगरपालिका वडा नं ५ नयाँमिलका सुवास भण्डारी गम्भीर घाइते छन्। उनीहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।