दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा मंगलबार मात्र दुई वटा गाडी दुर्घटनामा परेका छन्।
ना ३ ख ५५१९ नम्बरको बस र बा ४ ख ६७७१ नम्बरको टिपर छुट्टाछुट्टै दुर्घटनामा परेका हुन्। ती दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
सुर्खेतबाट दैलेखको जम्बुकाँध जाने क्रममा ब्रेक फेल भएर बस दुर्घटनामा परेको हो। बस दुर्घटनामा चालक वीरेन्द्रनगर नगरपालिका–१ का तिलक नेपालीको मृत्यु भएको छ। उक्त दुर्घटनामा १४ जना घाइते भएका छन्।
ब्रेक फेल हुँदा बस सडकमा पल्टिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घाइते १४ जनाकै अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।
टिपर पनि सोही ठाउँमा दुर्घटना भएको हो। तल्लो डुंगेश्वरबाट सियाकोट जाँदै गरेको टिपर बीच बाटोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
सडकबाट करिब ९०० मिटर तल टिपर खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले बताए।
उनका अनुसार मृतक दुवै जनाको सनाखत भने भएको छैन। ‘दुर्घटना हुँदा टिपरमा रहेका तीन जना घाइते थिए।
उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ,’ उनले भने, ‘घाइतेले बोल्न नसकेको हुँदा सनाखत भएको छैन।’
टिपर दुर्घटनामा घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि सुर्खेत पठाइएको श्रेष्ठले जानकारी दिए।