स्याङ्जामा कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
प्रहरीले पुतलीबजार नगरपालिका-६ बछिन डाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने इन्द्रजित गुरूङ, ३४ वर्षिय गिरेप्रसाद गुरूङ, २४ वर्षीय किङकङ गुरूङ र २८ वर्षीय सन्तोष गुरूङलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार उनीहरूलाई बुधबार पक्राउ गरेको हो।
उनीहरूमाथि पुतलीबजार नगरपालिका-६ पुरीस्वराका २९ वर्षीय सूर्यबहादुर गुरूङमाथि कुटपिट गरी हत्या गरेको आरोप छ।
गत सोमबार राति ११ बजे इन्द्रजित गुरूङ र सूर्यबहादुर गुरूङ समूहबीच झडप भएको थियो।
दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वरा गाउँतर्फ सूर्यबहादुरको समूह मापसे गरी मोटरसाइकलमा हो-हल्ला गर्दै जाँदै थिए।
सोहीबेला मापसे गरी बसेका इन्द्रजितको समूहले उनीहरूमाथि आक्रमण गरेका थियो।
डिएसपी अधिकारीका अनुसार उनीहरू दुबै समूहबीच बोत्तल, बासको भाटा, लाठी, ढुङ्गा प्रहार गरी झडप भएको थियो। झडप हुँदा दुबै पक्षका युवाहरू घाइते भएका थिए। त्यसमध्ये सूर्यबहादुर गुरूङ गम्भीर घाइते भएका हुन्।
'दुबै समूह एउटै गुरूङ गाँउकै हुन्, दाजुभाइ जस्तै हुन्,' अधिकारीले भने, 'ठूलो कारण केही थिएन। खाएको तालमा झडप हुँदा एक जनाको मृत्यु भयो। थप अनुसन्धानबाट अरू कारण भए-नभएको खुल्ला।'
सूर्यबहादुर गुरूङलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियो। उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको थियो।
आरोपीहरूलाई स्याङ्जा जिल्ला अदालतबाट पक्राउ स्वीकृती लिइ थप अनुसन्धान अघि बढाएको छ।
मृतक गुरूङको शव पोष्टमार्टम गरी बिहीबार परिवारको जिम्मा लगाइसकेको प्रवक्ता अधिकारीले बताए।