दाङका ६५ वर्षीय एक जना कोरोना संक्रमित पुरुषको आज बाँकेमा मृत्यु भएको छ।
ती पुरुष दाङको राप्ती गाउँपालिका वडा नम्बर १ का हुन्।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको दिउँसो ३:५० बजेतिर नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या भएपछि कात्तिक ९ गते आशंका लागेर उनको स्वाब संकलन गरिएको थियो।
१० गते उनलाई कोरोना संक्रमन पुष्टि भएको थियो।
त्यसपछि उनलाई अस्पतालको कोभिड–१९ युनिटमा भर्ना गरेर उपचार सुरु गरिएको थियो।
लामो समयदेखि मधुमेह रोगवाट पीडित उनलाई संभव भएसम्म सबै विधिवाट उपचार गरिएपनि स्वास्थ्य सुधार नआएपछि मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
योसहित बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि त्यहाँ लगिएका १७ जनाको मृत्यु भएको छ।
यस बीचमा बाँकेका थप ३० जनाको कोरोना संक्रमणले मृत्यु भएको छ।
कोरोनाबाट बाँकेमा हालसम्म ४७ जनाको मृत्यु भइसकेको जिल्ला कोरोना फोकल पर्सन श्रेष्ठले बताए।