पर्यटकीय नगरी पोखरास्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर र हिमागृह लामो समयदेखि बन्द छन्।
पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने रत्न मन्दिर (दरबार)लाई प्रयोगमा ल्याउने प्रयास गरिए पनि सफल हुन नसकेको प्रदेश सरकारले बताएको छ। तत्कालीन राजा महेन्द्रले आफ्नो कान्छी श्रीमती रत्नलाई खुसी पार्न विसं २०१३ सालमा निर्माण गरेको रत्न मन्दिर हाल नेपाल ट्रष्टको स्वामित्वमा छ।
२०६४ सालमा ट्रष्टको स्वामित्वमा आएदेखि यो भवन प्रयोगमा आउन सकेको छैन।
यो बीचमा रत्न मन्दिरलाई व्यवसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने प्रयास नेपाल ट्रष्टले नगरेको होइन। तर विशेष गरी पोखराका पर्यटन व्यवसायीको तीव्र विरोधपछि यो निर्णयबाट ट्रष्ट पछि हटेको देखिन्छ।
हिमागृह र रत्नमन्दिर क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न ट्रष्टसँग आह्वान गरिएको तर लिज सम्झौतामा प्रयोग गर्न दिने समझदारी भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बताए।
ट्रष्टको नाममा रहेका यस्ता क्षेत्र प्रयोगमा ल्याउन प्रदेश सरकारले प्राविधिक कार्यदल निर्माण गरी छलफललाई अगाडि बढाइएको पनि मुख्यमन्त्री गुरुङले बताए।
एक सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार क्षेत्र तत्कालीन राजपरिवारले पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमणको क्रममा बस्ने र आराम गर्ने थलोका रूपमा प्रयोग गर्दै आएका थिए।
यो दरबार क्षेत्रलाई प्रयोगमा ल्याउन सके पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने बुझाइ प्रदेश सरकारको रहेको पनि मुख्यमन्त्री गुरुङले बताए।