कोरोना भाइरसका सङ्क्रमितहरूको संख्यामा वृद्धि हुँदै गएपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरू बन्दको घोषणा गरिएको छ।
सरकारी अधिकारीहरूले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरू बन्द हुनेभएका हुन्। घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ।
शैक्षिक संस्थाहरू बन्द हुनेभएपछि अहिले तय गरिएका सबै परीक्षाहरू पनि स्थगित गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।
यसैगरी इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले इन्डोनेसियामा थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ।
पछिल्लो पटक थपिएकाहरूसँगै इन्डोनेसियामा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख दुई हजार ११० पुगेको छ ।
इन्डोनेसियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरूको संख्या १६ हजार दुई पुगेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।
मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितहरू ५६ हजार ६५९ जना रहेका छन्।
बङ्लादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७६० जना सङ्क्रमित भएका छन। तीमध्ये दुई हजार ४१९ जना अहिले थपिएका हुन्।
(रासस)
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७, ०६:३७:००